काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्।
आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै उनले जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी हुन्।

छ महिने अवधि रहेको चुनावी सरकारले जेनजी आन्दोलनमा अभिव्यक्त सबै काम गर्न नसकेको उनको भनाइ छ। तर, केही आधारशिला तयार गरिएको उनले बताइन्।
जटिल अपराध र भ्रष्टाचारको छानबिन गर्ने निकायलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ काम गर्न प्रेरित गरिएको उनको दाबी छ।
यस्तो छ सम्बोधनको पूर्ण पाठ
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
नमस्कार।
आज म तपाईंहरूसामु उपस्थित हुँदा मेरो मन केही भारी पनि भएको छ। म सम्झिरहेकी छु, ती कलिला बालबालिका, जसले भदौ २३ र २४ को घटनामा ज्यान गुमाउनुपर्यो। ती ऊर्जावान् किशोरकिशोरी, जसले आजीवन अपांगता व्यहोर्नुपर्यो। ती परिवार, जसले आफ्नो सपना र सहारा गुमाउनुपर्यो।
सभ्य र न्यायपूर्ण शासनको आह्वान गर्दै ज्यानको आहुति दिने ती सम्पूर्ण सहिदहरुमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। घाइते योद्धाहरुको स्वास्थ्य लाभको कामना गर्दछु। र, सहारा गुमाउनुभएका परिवारलाई भन्न चाहन्छु, तपाईँहरु एक्लो हुनुहुन्न।
तोडफोड र आगजनीबाट ऐतिहासिक धरोहर, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा पुगेको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गर्दछु। हामी फेरि उठ्नेछौँ भन्ने विश्वासका साथ एकजुट भएर अघि बढ्न म सबैलाई आह्वान गर्दछु।
भदौ २७ गते मैले यो जिम्मेवारी सम्हाल्दा मेरो मनमा डर र अनिश्चय थियो। तर देश संकटमा रहेको बेला केही आशाको दियो बाल्न सकिन्छ कि भन्ने आत्मविश्वास जुटाएर म यहाँ आएकी थिएँ। परिवर्तनकामी युवा पुस्ताको आग्रहमा, ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले मैले यो भूमिका स्वीकार गरेकी थिएँ।
अहिले म केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा माग्दै छु।हामी सबैलाई स्मरण होला- २०८२ भदौ २३ र २४ को युवाहरुको अगुवाइमा भएको जनआन्दोलनपछिको जटिल परिस्थिति। ७६ जनाको निधन, २ हजार ६ सयभन्दा बढी घाइते र ८४ अर्बको क्षति भएको त्यो समय अकल्पनीय थियो। त्यस्तो अवस्थाबाट वातावरण सहज बनाउँदै, सुरक्षा संगठनको मनोबल उकास्दै, प्रशासनलाई चलायमान र राजनीतिक दलहरूलाई निर्वाचनका लागि तयार गराउनुपरेको थियो।
सरकार गठन भएको पहिलो हप्तादेखि नै हामीले निर्वाचन आयोगसँग समन्वय गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निरन्तर प्रयास गर्यौँ।
आयोग पनि सरकारको चाहना र मुलुकको आवश्यकता बमोजिम घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने कार्ययोजनामा अघि बढ्यो। र, फागुन २१ गते तोकिएकै दिन एकै खेपमा ऐतिहासिक रुपमा शान्तिपूर्ण र स्वच्छ निर्वाचन सम्पन्न भयो।
यस कार्यमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तज्यूहरु, त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरुले छोटो समयमा गहन परिश्रम गरी महत्त्वपूर्ण भूमिका खेल्नुभयो। म उहाँहरुको उच्च प्रशंसा गर्दछु।
नेपाली सेनाले अहोरात्र खटेर कहालीलाग्दो परिस्थितिलाई काबुमा लिँदै सुरक्षा व्यवस्था सुदृढ गर्न र निर्वाचन गराउन समेत महत्त्वपूर्ण भूमिका खेलेको छ। यसका निम्ति प्रधानसेनापतिसहित प्रत्येक सिपाहीलाई धन्यवाद दिन्छु।
चौकी जलाइएका, हतियार लुटिएका, लुगा, जुत्तासमेत नभएका अवस्थामा पनि खरानीबाट उठाएर संगठनलाई पुनः सक्षम बनाउँदै निर्वाचन सम्भव तुल्याउने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुख तथा प्रत्येक सिपाहीलाई धन्यवाद दिन्छु।
राष्ट्रिय अनुसन्धान विभागले देखाएको सक्षमता थप प्रशंसनीय छ। यसका लागि प्रमुख र प्रत्येक कर्मचारीलाई धन्यवाद छ। आफ्नो घरबार छोडी छोटो समयका लागि पनि आएर सेवा गर्ने निर्वाचन प्रहरीहरुको योगदान ससम्मान सम्झिन चाहन्छु।
निर्वाचनमा खटिने अदालतका कर्मचारीसहित प्रत्येक राष्ट्रसेवक पनि धन्यवादका पात्र हुनुहुन्छ।
सबै राजनीतिक दल तथा उम्मेदवारहरुले विषम परिस्थितिका बीच निर्वाचनमा भाग लिएर गर्नुभएको सहयोगका लागि पनि आभारी छु। यस निर्वाचनको महान् पर्वमा फागु वा होलीलाई पनि थाती राखी शान्तिपूर्ण तरिकाबाट सहभागी हुनुहुने सम्पूर्ण मतदाताप्रति कृतज्ञ छु।
यस्तै सम्पूर्ण सञ्चारकर्मी, नागरिक समाज तथा पर्यवेक्षक पनि धन्यवादको पात्र हुनुहुन्छ। मित्रराष्ट्रहरू, विभिन्न विकास साझेदारसहित अन्तर्राष्ट्रिय समुदायको सहयोगप्रति पनि म कृतज्ञता व्यक्त गर्दछु।
मेरो नेतृत्वमा सरकारमा सहभागी मन्त्रीज्यूहरू र मेरो सचिवालयको टोलीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु।
सम्माननीय राष्ट्रपतिज्यूको अभिभावकीय भूमिका र मार्गदर्शन स्मरणीय छ।
विशेष परिस्थितिमा सम्पन्न यस निर्वाचनले थुप्रै नवीन र सकारात्मक अभ्यासहरू स्थापित गरेको छ।
निर्वाचनको सुरक्षा, स्वच्छता, मितव्ययिता र समयको पालनामा यसपालि हामीले थुप्रै मानक स्थापित गर्न सकेका छौँ। आगामी चुनावहरुमा यही स्तर कायम राख्न सक्यौँ भने हाम्रो लोकतन्त्रलाई थप सुसंस्कृत र समृद्ध चरणमा पुर्याउन सकिनेछ।
यस निर्वाचनले हामीलाई एउटा महत्त्वपूर्ण पाठ सिकाएको छ- निःस्वार्थ भावले देशको हितका लागि काम गर्दा जनताको साथ अवश्य पाइन्छ। संकटका बेला नेपालीहरू एकजुट भएर सामना गर्न सक्छन् भन्ने कुरा हामीले पुनः प्रमाणित गरेका छौँ। र हाम्रो राष्ट्रिय क्षमता कमजोर भएको छैन र आफ्नो समस्या आफै सुल्झाउन सक्छौँ भन्ने पनि सावित गरेका छौँ।
यो निर्वाचनमा जेनजी आन्दोलनको मर्म र भावनाबमोजिम परिवर्तनको पक्षमा नागरिकहरुले स्पष्ट जनादेश दिनुभएको छ। यो संविधानमा भएको निर्वाचन प्रणालीले कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई समेत गलत सावित गरिदिएको छ।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकांक्षाबमोजिम मुलुकमा भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना, देशभित्रै रोजगारी सिर्जना, आर्थिक विकास र सामाजिक न्यायको क्षेत्रमा नतिजामुखी कार्य गर्नेछ भन्ने विश्वास लिएकी छु। यसका लागि सरकारको पूर्ण सफलताको कामना पनि गर्दछु।






